राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्न । भएसँगै नेपालको राजनीतिक वृत्तमा एकखालको तरंग आएको छ । त्यसको एउटै कारण हो– राप्रपामा पुस्तान्तरण । राप्रपालाई ‘कब्जा’ मा राख्दै आएका कमल थापालाई पराजित गरेपछि लिङ्देनले आफ्नो पार्टीको महाधिवेशनलाई एमालेसँग तुलना गरेका छन् ।

अध्यक्षमा निर्वाचित भएपछिको पहिलो औपचारिक कार्यक्रममा उनले देशभरको ध्यान राप्रपातर्फ आकर्षित भएको बताए । ‘राप्रपामा मात्रै होइन, देशमै पुस्तान्तरणको मुद्दा लिएर जानेछु,’ उनले भने, ‘राप्रपाको महाधिवेशनलाई देशका अन्य पार्टीका मानिस, बुद्धिजीवी र पत्रकारको ध्यान कम आकर्षित भएको छ । यो ध्यानाकर्षण एमाले महाधिवेशनमा भन्दा कम छैन ।’

नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणासँग मिलेर लिङ्देनले उम्मेदवारी घोषणा गरेदेखि नै महाधिवेशनमा चासो निकै बढेको थियो । संसद्मा राप्रपाका एक मात्रै प्रतिनिधि लिङ्देनले पार्टी नेतृत्वमा दाबी गरेदेखि नै महाधिवेशनको विषयले समाचारमाध्यममा स्थान पाएको थियो भने नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने माग गर्दै आएका अन्य दलका नेताहरूले समेत चासोका साथ हेरेका थिए ।

कांग्रेसभित्र नेतृत्व पुस्तान्तरण हुनुपर्ने बताउँदै आएका विमलेन्द्र निधिले निर्वाचन परिणाम सार्वजनिक हुनेबित्तिकै विज्ञप्ति जारी गर्दै लिङ्देनलाई बधाई दिए । ‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको छ,’ निधिले आइतबार विज्ञप्तिमार्फत भनेका छन् । निधि अर्को साता हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन् ।

पञ्चायतकालबाटै राजनीतिमा होमिएका लिङ्देनले देशभर पुस्तान्तरणको अभियान चलाउने र देशको वैकल्पिक प्रजातान्त्रिक नभई मुख्य राजनीतिक शक्तिका रूपमा पार्टीलाई स्थापित गर्ने दाबी गरेका छन् । उनी बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि गठन भएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष बनेका थिए ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा