कोभिड–१९ को सङ्क्रमण आज २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार झापाका नौ, मोरङ एक, सुनसरी एक, सर्लाही दुई, मकवानपुर एक, भक्तपुर एक, काठमाडौँ तीन, ललितपुर एक, सिन्धुली एक, कपिलवस्तु चार, नवलपरासी एक, रामेछाप एक र लमजुङका एकजनामा सङ्क्रमण देखिएको हो ।
आज २७ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको छ । यसैगरी ३६ जिल्लामा सङ्क्रमण देखिएको उनले बताए । आज देखिएका सङ्क्रमितमा २४ पुरुष र तीन महिला छन् । प्रवक्ता डा देवकोटाले सङ्क्रमितको हाल र स्थायी ठेगानाअनुसार कन्ट्याक्ट टे«सिङ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरिरहेको बताए । उनले आज कोशी अस्पतालबाट एकजना थप स्वस्थ भई घर फर्किनुभएको जानकारी दिए । यसरी स्वस्थ भई घर फर्कनेको सङ्ख्या ३७ पुगेको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा थपिएका पाँच जना कोरोनाभाइरस संक्रमितमध्ये एक जना संक्रमित छापाखानाका कामदार रहेको खुलेको छ। मंगलबार काठमाडौंमा मात्रै तीन जना संक्रमित थपिएका थिए। जसमध्ये एक जना महानगरपालिका-२८ बागबजारको बुद्ध विहार पछाडि बस्ने खुलेको हो। उनी होटल हार्दिक नजिकैको छापाखानामा काम गर्ने व्यक्ति रहेको बताइएको छ। ती संक्रमित केही दिनअघि भैरहवाबाट काठमाडौं आएको खुलेको छ।
त्यस्तै उपत्यकामा देखिएका ५ संक्रमितमध्ये एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत करारका चिकित्सक भएको बताइएको छ। मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो। जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा विभाग अन्तर्गत करारका चिकित्सक रहेको पाइएको छ। नेपालमा डाक्टरमा कोरोना संक्रमण देखिएको सम्भवत यो नै पहिलो हो।
टोखाका २४ व्यक्तिको स्वाव परिक्षणको नतिजा नेगेटिभ
टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा निधन भएपछि टोखामा गरिएका २४ व्यक्तिको स्वाब सङ्कलनको नतिजा नेगेटिभ देखिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी सावित्री तिम्सीना चालिसेको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा निधन भएपछि टोखामा गरिएको २४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका–९ बुद्धमार्गमा गरिएको २४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएको जानकारी दिए । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ देखिएको छ”, उनले भने । टोखा नगरपालिका–९ बुद्धमार्गका २४ जनाको स्वाब सङ्कलनको नतिजा नेगेटिभ देखिएसँगै शनिबार रातिदेखि शिल गरिएको गोँगबु क्षेत्रलाई बन्दाबन्दी खुकुलो बनाइएको छ । टोखाले स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएकाले नडराइकन सम्यमता अपनाइ लकडाउनको पूर्ण पालना गर्न नगरबासीलाई आग्रह समेत गरेको छ ।