काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन अवधिमा सामाजिक सञ्जाल तथा कृत्रिम बुद्धिमत्ता(एआई) को प्रयोगलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय गरेको छ।
आयोगले ‘निर्वाचन आचारसंहिता, २०८२’ स्वीकृत गर्दै प्रविधिको दुरुपयोगबाट मतदाता, राजनीतिक दल वा उम्मेदवारमाथि अनुचित प्रभाव पर्न सक्ने जोखिमलाई मध्यनजर गरी सामाजिक सञ्जाल र एआइको प्रयोगलाई कडाइका साथ नियमन गर्ने व्यवस्था गरेको हो।
निर्वाचन आचारसंहिताअनुसार सामाजिक सञ्जालमार्फत गलत, भ्रामक वा अपूर्ण सूचना प्रवाह गर्न, प्रचार सामग्री प्रकाशन वा साझा गर्न, तथा आर्थिक लेनदेनका माध्यमबाट मतदातामाथि प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ।
त्यसैगरी, कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी प्रचार गर्ने, टीका–टिप्पणी गर्ने, भ्रम फैलाउने सामग्री तयार गर्ने, नक्कली आवाज वा दृश्य सामग्री निर्माण गर्ने, प्रकाशन वा प्रसारण गर्नसमेत पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
निर्वाचनसँग सम्बन्धित कुनै पनि सामग्री आयोगको पूर्वअनुमति बिना प्रवर्द्धन गर्ने, व्यापक रूपमा फैलाउने वा लक्षित वर्गलाई लक्षित गरी प्रचार गर्नसमेत पाइने छैन। भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमानजनक अभिव्यक्ति प्रयोग गर्ने, द्वेष फैलाउने भाषण जस्ता अनुचित टीका–टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था पनि आचारसंहितामा स्पष्ट रूपमा उल्लेख गरिएको छ।
आचारसंहिताले प्रकाशित वा प्रसारित सूचना तथा सामग्रीको स्रोत अनिवार्य रूपमा स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरेको छ र प्रविधिको प्रयोगबाट मतदाता, राजनीतिक दल वा उम्मेदवारमाथि कुनै पनि प्रकारको अनुचित प्रभाव पर्न नहुने सिद्धान्तलाई विशेष प्राथमिकता दिएको छ।
निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा तथा आयोगका आधिकारिक प्रयोजन बाहेक अन्य कुनै उद्देश्यका लागि प्रविधिलाई प्रचार–प्रसारको साधनका रूपमा प्रयोग गर्न नपाइने आयोगको स्पष्ट अडान रहेको छ।
