‘देश सम्हाल्ने र सुधार्ने तागत कांग्रेससँग मात्र छ’ : सभापति गगन थापा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने र सुधार्ने शक्ति कांग्रेस मात्रै भएको दाबी गरेका छन्। धनुषाको जनकपुरधामस्थित कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै सभापति थापाले देशले अहिले सक्षम नेतृत्व खोजिरहेको र त्यो जिम्मेवारी बहन गर्न कांग्रेस पूर्ण रूपमा तयार रहेको बताए। प्रदेशका आठवटै जिल्लाका सभापति, प्रदेश कार्यसमिति सदस्य तथा ३२ निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवारहरूको भेलालाई सम्बोधन गर्दै उनले मुलुकको निकासका लागि कांग्रेसको विकल्प नरहेको जिकिर गरे।

सम्बोधनका क्रममा थापाले कांग्रेस र मधेसको सम्बन्ध अटुट रहेको उल्लेख गर्दै मधेसकै जगमा देशलाई सम्हाल्ने प्रतिबद्धता व्यक्त गरे। “कांग्रेस भनेकै मधेस हो भन्ने बुझेरै आफू मधेसबाट उम्मेदवार बनेको हुँ,” उनले भने, “देश सम्हाल्ने क्रममा मधेस कांग्रेसको पहिलो प्राथमिकतामा रहनेछ।” उनले पार्टीको आगामी घोषणापत्र तयारीका लागि आफू काठमाडौँ जान लागेको जानकारी दिँदै घोषणापत्रका मुख्य तीन विशेषतामध्ये मधेसका मुद्दा एक प्रमुख आधार हुने स्पष्ट पारे।

पार्टीको आन्तरिक अवस्थाबारे चर्चा गर्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग आफ्नो नियमित संवाद भइरहेको र पार्टीभित्रका गुट-उपगुटहरू अब समाप्त भएको दाबी गरे। उनले अबको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताउँदै रुख चुनाव चिह्न भएका उम्मेदवारलाई जिताउन नेता तथा कार्यकर्ताहरूलाई एकीकृत भएर सक्रिय हुन निर्देशन दिए। पार्टी एकताले नै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउने उनको विश्वास थियो।

कांग्रेस अब युवा र ‘जेन-जी’ (Gen-Z) हरूको समेत पार्टी भएको तर्क गर्दै थापाले ओझेलमा परेका मधेसका मुद्दाहरूलाई सम्बोधन गर्न परम्परागत सभा-सम्मेलनभन्दा घरदैलो अभियान बढी प्रभावकारी हुने बताए। जनताको घर-आँगनमा पुगेर उनीहरूका समस्या सुन्नु नै अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो। काठमाडौँ जानुअघि उनले मधेस प्रदेशका आठवटै जिल्लाका उम्मेदवार तथा जिल्ला सभापतिहरूसँग चुनावी रणनीति र तयारीबारे छुट्टाछुट्टै छलफल समेत गरेका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा