काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
निर्वाचन विथोल्ने गतिविधि गरेको आरोपमा गत फागुन ४ गते उनकै निवास भक्तपुरबाट प्रहरीले पक्राउ गरेको प्रसाईंलाई उमा प्रसाईंले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले जिल्ला प्रहरी परिसर काठमाडौं, भ्रद्रकालीका नाममा आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीश डा.मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासको आदेशबमोजिम प्रसाईं छुट्ने प्रक्रियामा छन् ।
प्रसाईंविरुद्ध प्रहरीले अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोप थियो ।उनलाई अदालतबाट पटकपटक म्याद थप गर्दै थुनामा राखिँदै आएको थियो ।
प्रसाईं राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजकसमेत हुन् । उनी माघ महिनामै दुईपटक पक्राउ परेर छुटेका थिए । पुनः फागुन ४ मा पनि पक्राउ परेका हुन् ।




