काठमाडौँ । नेकपाका उपाध्यक्ष एवं प्रभावशाली सांसद वर्षमान पुनले विगतमा आफ्नो पार्टीले पाएको ऐतिहासिक जनमतलाई सही ढङ्गले सदुपयोग गर्न नसकेको स्वीकार गर्नुभएको छ। बिहीबार नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै पुनले तत्कालीन नेकपा माओवादीले २०६४ सालको संविधानसभा निर्वाचनमा हासिल गरेको झण्डै दुई तिहाइको विजय र २०७४ को वाम एकता पछिको शक्तिलाई सत्ता सञ्चालन र परिवर्तनमा बदल्न नसकेको बताउनुभयो।
सम्बोधनका क्रममा पुनले २०६४ सालको निर्वाचनको परिणाम र वर्तमान रास्वपाको उदयको प्रकृति मिल्दोजुल्दो रहेको उल्लेख गर्नुभयो। “०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले झण्डैझण्डै यस्तै खालको विजय हासिल गरेको थियो। २०७४ मा दुई ठूला दल मिलेर झण्डै दुई तिहाइको बहुमत ल्याएका थियौँ र पछि पार्टी एकता पनि गर्यौँ,” उहाँले भन्नुभयो, “तर, त्यो शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने हामीले जानेनौँ, जसले गर्दा जनताको अपेक्षा पूरा हुन सकेन।”
पुनले अहिलेको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै विगतका दलहरूको गल्तीबाट शिक्षा लिन आग्रह गर्नुभयो। उहाँले नयाँ शक्तिले जनमतको अपमान नगर्न र देशलाई सही दिशामा लैजान सुझाव दिँदै यस प्रक्रियामा नेकपाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। ‘जेनजी’ आन्दोलन र बालेन्द्र शाहको प्रभावपछि बदलिएको राजनीतिमा पुराना दलहरूले आफ्ना कमजोरी सुधार्नुपर्नेमा उहाँको जोड थियो।
पछिल्लो समय सत्ता समीकरणमा देखिएको फेरबदल र रास्वपाको नेतृत्वदायी भूमिकालाई लिएर पुनको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उहाँले राजनीतिक दलहरूबीचको एकता र सहकार्य विना मुलुकको समृद्धि सम्भव नभएको बताउँदै आफूहरू प्रतिपक्षी वा सहयोगी जो सुकै भूमिकामा रहे पनि देश हितका लागि सधैँ तत्पर रहने स्पष्ट पार्नुभयो।




