एमालेमा ‘बादल’ को अभिव्यक्तिले भूकम्प: आज दिउँसो १ बजे आकस्मिक सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेभित्र संसदीय दलका नेता एवं कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ को पछिल्लो अभिव्यक्तिले ठूलो राजनीतिक हलचल ल्याएको छ। बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयमा नेपाली सेना, कर्मचारीतन्त्र र बारबरा फाउन्डेसन जस्ता संस्थाहरूको हात रहेको भन्दै दिएको विवादास्पद बयानपछि पार्टीले आज (शुक्रबार) दिउँसो १ बजेका लागि आकस्मिक सचिवालय बैठक बोलाएको छ।

थापाले संसद्‌मा झन्डै साढे ६ मिनेट सम्बोधन गर्ने क्रममा फागुन २१ को निर्वाचन परिणाम र भदौ २३-२४ को ‘जेनजी’ आन्दोलनलाई लिएर राज्यका संवेदनशील अङ्गहरूमाथि गम्भीर प्रश्न उठाउनुभएको थियो। उहाँले बालेन्द्र शाह नेतृत्वको सरकारको उदयलाई ‘नीलो क्रान्ति’ को संज्ञा दिँदै यसमा सुरक्षा निकाय र न्यायालयको समेत भूमिका रहेको आरोप लगाउनुभएको थियो। पार्टीको आधिकारिक नीति र ‘जनताको बहुदलीय जनवाद’ (जबज) को मान्यता विपरित यस्तो गम्भीर आरोप लगाएको भन्दै एमालेका शीर्ष नेताहरू रुष्ट बनेका छन्।

विशेष गरी उपाध्यक्ष विष्णु पौडेलले थापाको विचार पार्टीको स्थापित नीति र मान्यता विपरित रहेको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै आपत्ति जनाउनुभएको छ। उपमहासचिव योगेश भट्टराईले पनि एमालेको सुरक्षा अङ्ग र संवैधानिक निकायप्रति कुनै वैरभाव नरहेको स्पष्ट पार्दै थापाको भनाइको खण्डन गर्नुभएको छ। पार्टीमा कुनै छलफल नै नगरी दल नेताको हैसियतमा यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आजको बैठकमा थापामाथि स्पष्टीकरण सोधिने वा पदबाट राजीनामा मागिने सम्भावना समेत रहेको छ।

अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीपछि कार्यवाहक नेतृत्व सम्हालिरहनुभएका थापाको यो कदमले एमालेलाई रक्षात्मक अवस्थामा पुर्‍याएको छ। आज च्यासलस्थित पार्टी कार्यालयमा बस्ने सचिवालय बैठकले थापाको अभिव्यक्तिको आधिकारिकता र पार्टीको भावी कदमबारे ठोस निर्णय लिने बताइएको छ। नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेको समयमा एमालेभित्रको यो आन्तरिक कलहले पार्टीको भविष्यमाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा