काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता ईश्वर पोखरेलले पार्टी नेतृत्वलाई वर्तमान राजनीतिक परिस्थितिको गाम्भीर्यता बुझ्न र आफ्नो व्यवहारमा तत्काल सुधार ल्याउन कडा चेतावनी दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा ‘नेकपा (एमाले) को रक्षाका लागि’ शीर्षकमा एक विशेष स्टाटस लेख्दै पोखरेलले विकसित परिस्थिति अनुसार चिन्तन बदल्न नसके पार्टी दुर्घटनामा पर्न सक्ने संकेत गर्नुभएको हो। “गति अनुसार मति बनाऔँ, आफ्ना बिग्रिएका मति अनुकूल गतिलाई बुझ्ने मूर्खता नगरौँ,” भन्दै उहाँले नेतृत्वको कार्यशैलीप्रति तिखो प्रहार गर्नुभएको छ।
संसद्को पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले दिएको विवादास्पद अभिव्यक्ति र त्यसपछि पार्टीभित्र उत्पन्न कलहका बीच पोखरेलको यो भनाइ सार्वजनिक भएको हो। उहाँले सिद्धान्तहीन सत्ता स्वार्थ, अवसरवाद र आत्मकेन्द्रित अभिव्यक्तिहरू पार्टीका लागि अत्यन्तै हानिकारक रहेको उल्लेख गर्नुभएको छ। विधि र पद्धति विपरीतका गतिविधिले एमालेको साख गिराएको भन्दै उहाँले यस्ता विकृतिबाट मुक्त भएर पार्टीलाई नयाँ उचाइमा लैजान सम्पूर्ण पङ्क्तिलाई एकताबद्ध हुन आह्वान गर्नुभयो।
नेता पोखरेलले एमाले स्थापनाकालदेखि नै सामूहिक नेतृत्व र आलोचनात्मक चेतबाट निर्देशित पार्टी रहेको स्मरण गराउँदै गत मंसिरमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनका निष्कर्षहरूलाई कुल्चिन नहुने बताउनुभयो। ‘जेनजी’ आन्दोलन र नयाँ शक्तिहरूको उदयले पुरानो राजनीतिक ढर्रालाई चुनौती दिइरहेका बेला एमालेले आफ्नो आन्तरिक लोकतन्त्र र पद्धतिलाई बिर्सनु आत्मघाती हुने उहाँको तर्क छ। उहाँले नेतृत्वले वस्तुगत परिस्थितिलाई नजरअन्दाज गरी आफ्नै ढिपी कायम राखेमा पार्टीले थप क्षति व्यहोर्नुपर्ने चेतावनी दिनुभयो।
पार्टीमाथि चौतर्फी षडयन्त्रपूर्ण हमला भइरहेको दाबी गर्दै पोखरेलले लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्न कार्यकर्ताहरूलाई हौसला दिनुभएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार र बदलिएको जनमतका बीच एमाले रक्षात्मक बनिरहेका बेला पोखरेलको यो ‘मिसन ओभरहल’ को प्रस्तावलाई अर्थपूर्ण रूपमा हेरिएको छ। आज बस्ने सचिवालय बैठकमा पोखरेलको यो असन्तुष्टिले कुन रूप लिन्छ र बादलको अभिव्यक्तिमाथि कस्तो निर्णय हुन्छ भन्नेमा सबैको चासो केन्द्रित छ।





