काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालय बैठकमा पार्टीभित्रको पुस्तान्तरण र युवा नेता सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बन्नबाट रोकिएको विषयमा गम्भीर छलफल भएको छ। कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसमा आइतबार बसेको बैठकमा सहभागीहरूले सुहाङलाई दलको नेता बन्नबाट रोकिनुलाई पार्टीभित्रको षडयन्त्र र युवालाई अवसर दिन कन्जुस्याइँ गरिएको रूपमा चित्रण गरेका छन्।
बैठकमा ५८ सदस्यीय सचिवालयका २८ जनाको उपस्थिति थियो। सहभागी अधिकांश सदस्यहरूले अध्यक्ष दीपक धामीलाई लक्षित गर्दै निर्वाचनमा पराजित भएपछि पनि पद ओगटिरहेको भन्दै प्रश्न उठाएका थिए। सचिवालय सदस्यहरू योगेश बम र नितेश लामिछाने बाहेक अन्य सबैले पार्टी र संगठनमा पुस्तान्तरण अनिवार्य रहेको, अन्यथा युवाहरू पार्टीमा टिक्न नसक्ने धारणा राखेका थिए। बैठकमा रुद्रहरि पोखरेल, कायेरा पोखरेल र बिहानी पङ्गेनीले नेतृत्वले ल्याएका केही विरोधका कार्यक्रममा सुरुवातमै असहमति जनाएका थिए।
बैठकले १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै शैक्षिक सुधार र जनजीविकाका सवालहरू सार्वजनिक गरेको छ। अनेरास्ववियुले आधारभूत शिक्षा पूर्णतः निःशुल्क र अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। साथै, सार्वजनिक यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुटको व्यवस्थालाई कडाइका साथ पालना गराउन समेत सरकारको ध्यानाकर्षण गराएको छ।




