काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुमबासी बस्ती स्थानान्तरणका क्रममा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र शैक्षिक निरन्तरताका लागि ६ बुँदे विशेष सर्कुलर जारी गर्नुभएको छ। मन्त्रीको निर्देशनलगत्तै मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रभावित क्षेत्रका विद्यार्थी र विद्यालयको सहजीकरणका लागि स्थानीय तहहरूलाई विभिन्न निर्देशन दिएको हो।
बस्ती हटाउँदा प्रभावित भएका विद्यार्थीहरूलाई पायक पर्ने अर्को विद्यालयमा भर्ना र स्थानान्तरण गर्न सहजीकरण गरिदिन केन्द्रले सबै स्थानीय तहलाई अनुरोध गरेको छ। विशेषगरी सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई लक्षित गर्दै उनीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहयोग र सुरक्षा सुनिश्चित गर्न निर्देशन दिइएको छ।
बस्ती खाली गराउने क्रममा विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था मिलाउन मन्त्रालयले जोड दिएको छ। सुकुमबासी बस्तीका विद्यार्थी वा विद्यालयसँग सम्बन्धित कुनै पनि गुनासो, समस्या वा सुझाव भए तत्काल केन्द्रमा पठाउन समेत स्थानीय तहहरूलाई आग्रह गरिएको छ। मन्त्री पोखरेलको यो सक्रियताले बासस्थान गुमाएका विद्यार्थीहरूको परीक्षा र पढाइ बिथोलिन नदिने विश्वास गरिएको छ।





