काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो कार्यकालमा आफूले ‘नगर्ने’ १० वटा कामहरूको सूची सार्वजनिक गर्दै सुशासनको नयाँ प्रतिबद्धता जनाउनुभएको छ। मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा कसैलाई जागिर नलगाउने, नियुक्ति नदिने र स्वार्थप्रेरित सरुवा–बढुवा नगर्ने स्पष्ट पार्नुभएको हो।
मन्त्री बादीले शक्तिको दुरुपयोग नगर्ने र कानुन विपरीत कसैको भनसुन नसुन्ने दृढता व्यक्त गर्नुभएको छ। विशेष गरी लागूऔषध, ठगी र तस्करीजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन कुनै पनि किसिमको संरक्षण नगर्ने उहाँको घोषणा छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने बताउँदै उहाँले कुनै पनि बहानामा कमिसन वा घुस नलिने र यस्ता कार्यविरुद्ध सशक्त रूपमा उभिने उल्लेख गर्नुभएको छ।
सीमान्तीकृत समुदाय, महिला, दलित र बालबालिकामाथि हुने हिंसाका मुद्दामा कुनै सम्झौता नगर्ने बताउँदै मन्त्री बादीले राज्यको स्रोत–साधनको दुरुपयोग नगर्न मन्त्रीका रूपमा पाइने क्वार्टर, घरभाडा र कूटनीतिक राहदानी समेत नलिने घोषणा गर्नुभएको छ। भोट दिएको वा नदिएको आधारमा कसैको दबाबमा नपरी सबै नागरिकलाई समान रूपमा सेवा गर्ने उहाँको प्रतिबद्धता रहेको छ।





