काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको महत्त्वपूर्ण बैठक आज काठमाडौँमा बस्दै छ। महाराजगन्जस्थित स्मार्ट होटलमा बस्ने यस बैठकमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूको सहभागिता रहने निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिनुभएको छ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि विकसित राजनीतिक घटनाक्रम र समूहको अबको रणनीतिका बारेमा बैठकमा गहन छलफल हुने बताइएको छ। विशेष गरी अदालतको निर्णयपछि पार्टीभित्र कसरी अगाडि बढ्ने भन्ने विषयमा खड्का समूहले साझा धारणा बनाउने तयारी गरेको छ।
यद्यपि, पार्टीभित्रको अर्को प्रभावशाली पक्ष डा. शेखर कोइराला समूह भने यो बैठकमा सहभागी नहुने भएको छ। कांग्रेसभित्र विशेष महाधिवेशन र नेतृत्वको विषयलाई लिएर आन्तरिक समीकरण फेरबदल भइरहेका बेला बस्न लागेको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।





