काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका बीच निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहले क्रियाशील सदस्यता नवीकरणका विषयमा एउटै निष्कर्ष निकालेका छन्। दुवै समूहका छुट्टाछुट्टै भेलाले नवीकरण भइसकेको सदस्यता अद्यावधिक गर्ने वा खारेज गर्ने कार्य वैधानिक र व्यवहारिक नभएको ठहर गरेका हुन्।
देउवा समूहको वैशाख १५ र १६ गते बसेको भेला तथा शेखर समूहको बिहीबार बालुवाटारमा सम्पन्न बैठकले नवीकरण भइसकेको सदस्यता खारेज गर्न नमिल्ने अडान राखेका छन्। देउवा समूहका तर्फबाट निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै कुनै नेताको लहडमा सदस्यता खारेज गर्न नसकिने बताउनुभयो। उहाँले विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्यसमितिलाई ‘कथित’ को संज्ञा दिँदै आपत्ति समेत जनाउनुभएको छ।
यता डा. कोइराला समूहले पनि १५औँ महाधिवेशनका लागि नवीकरण भइसकेको सदस्यताको पुनः अद्यावधिक व्यवहारिक नभएको निष्कर्ष निकालेको छ। कोइरालाको सचिवालयका अनुसार भेलाले पार्टीमा पछिल्लो समय देखिएको विवादको मुख्य जड नै विशेष महाधिवेशन भएको ठहर गरेको छ। बागमती प्रदेशका नेता तथा सांसदहरूको उपस्थिति रहेको उक्त भेलाले पार्टीलाई एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापतिकै भएको बताएको छ।





