रौतहट । बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहटको नहर क्षेत्रमा अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाइने भएको छ। आयोजनाले गत चैत २६ गते सात दिने सार्वजनिक सूचना जारी गरी संरचना हटाउन आग्रह गरे पनि स्थानीयले अटेर गरेपछि अब बल प्रयोग गरेर हटाउने तयारी गरिएको हो।
रौतहटको चन्द्रपुर नगरपालिका–५ र ६ क्षेत्रमा विगत २८ वर्षदेखि स्थानीयले नहरको जमिन अतिक्रमण गरी बसोबास गर्दै आएका छन्। बागमती सिँचाइ आयोजना कर्मैयाका प्रमुख सन्तोष चौधरीका अनुसार, नेपाल सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूची र सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत यो कदम चालिएको हो। चन्द्रपुर–१ देखि गुजरा नगरपालिकाको धन्सार खोलासम्मको मूल नहर क्षेत्र खाली गराइनेछ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले स्वतः नहटाए संरचना भत्काइने स्पष्ट पार्नुभएको छ। यता, रौतहट क्षेत्र नं. ४ का सांसद गणेश पौडेलले राष्ट्रिय गौरवको आयोजना भएकाले नहर व्यवस्थापन प्राथमिकतामा रहेको बताउनुभएको छ। तर, नहर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले भने आफूहरू वास्तविक सुकुम्वासी भएको दाबी गर्दै उचित व्यवस्थापनको मागसहित नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।





