काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भारतको केरला विधानसभा निर्वाचनमा वामपन्थीहरूको पराजयलाई लिएर नेपालमा भइरहेको विश्लेषणप्रति कडा प्रतिक्रिया दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै पोखरेलले संकट र चुनौतीको समयमा निराशा तथा पलायनता रोज्नु अवसरवादी र कायरहरूको बाटो भएको बताउनुभएको हो।
भारतको केरलामा दश वर्षदेखि सत्तामा रहेको वामपन्थी गठबन्धन (LDF) भर्खरै सम्पन्न निर्वाचनमा पराजित भई कांग्रेस नेतृत्वको UDF सत्तामा आएपछि नेपालमा पनि वामपन्थी आन्दोलन संकटमा परेको चर्चा सुरु भएको छ। यसप्रति असन्तुष्टि जनाउँदै पोखरेलले केरलाको चुनावी परिणामले मात्र नेपालको वामपन्थी भविष्य निर्धारण नगर्ने स्पष्ट पार्नुभयो। उहाँका अनुसार, नेपालको वामपन्थी आन्दोलनको भविष्य यसका एजेन्डा, राष्ट्रिय हितका काम र जनतासँगको सम्बन्धमा आधारित हुन्छ।
महासचिव पोखरेलले केरलामा सत्ता परिवर्तन हुने नियमित इतिहास रहेको स्मरण गराउँदै अहिलेको हारलाई केवल वामपन्थको मात्र नभई नेपालका समग्र लोकतान्त्रिक शक्तिहरूको हारका रूपमा लिनुपर्ने तर्क गर्नुभयो। उहाँले लोकतान्त्रिक भविष्य निर्माणका लागि अब शक्तिहरूले गम्भीर समीक्षा, मूल्याङ्कन र पुनर्जागरणको स्पष्ट योजना तयार पार्नुपर्नेमा जोड दिनुभएको छ। एउटा क्रान्तिकारीले प्रतिकूलतालाई अनुकूलतामा बदल्ने सामर्थ्य राख्नुपर्ने उहाँको भनाइ छ।





