प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको कडा आपत्ति: उपसभामुखको भूमिकामाथि पनि उठाए प्रश्न

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस प्रक्रियाप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन्। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै साम्पाङले सरकारले विधि र पद्धति मिचेर वरीयताको चौथो नम्बरमा रहेका व्यक्तिलाई सिफारिस गर्नु ठूलो गल्ती भएको बताएका हुन्। संसद्लाई छलेर र राष्ट्र प्रमुखलाई दबाब दिएर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याइनु आफैँमा गलत कदम भएको उनको ठहर छ।

अध्यक्ष साम्पाङले विशेषगरी आफ्नै पार्टीबाट उपसभामुख बनेकी व्यक्तिको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका छन्। नियुक्ति सम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसङ्ग ल्याएर दबाब सिर्जना गरिएको अवस्थामा उपसभामुखले वरीयता उल्लङ्घन गरी गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ। आफ्नै पार्टीका प्रतिनिधिको यस्तो संलग्नतालाई उनले राजनीतिक र कानुनी स्वार्थको उपजका रूपमा व्याख्या गरेका छन्।

साम्पाङले यो नियुक्ति प्रक्रियामा सहकारी ठगी प्रकरण र भदौ २३–२४ को ‘जेनजी’ आन्दोलन जस्ता गम्भीर मुद्दाहरू जोडिएको आशङ्का व्यक्त गरेका छन्। सरकारले आफ्नो पक्षमा निर्णय गराउनका लागि सेटिङका आधारमा प्रधानन्यायाधीश सिफारिस गरेको उनको दाबी छ। यस्तो विवादास्पद नियुक्तिले न्यायपालिकाको गरिमा र स्वतन्त्रतामाथि नै गम्भीर प्रश्न उठाएको भन्दै उनले यसको विरोध गरेका हुन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा