काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा साँझ ६ बजे बस्ने तय भएको उक्त बैठकमा विभिन्न साङ्गठनिक र समसामयिक विषयमा महत्त्वपूर्ण निर्णयहरू हुने बताइएको छ। बैठकमा मुख्यगरी भेला, अधिवेशनको विशेष तालिका र पार्टीका विभिन्न आयोग तथा विभागहरूमा पदाधिकारी मनोनयन गर्ने सम्बन्धमा छलफल हुनेछ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा जिल्ला समितिहरू विघटन गर्नेबारे पनि गम्भीर परामर्श र आवश्यक निर्णय हुने कार्यसूची रहेको छ। रास्वपाले आफ्नो साङ्गठनिक संरचनालाई थप सुदृढ र प्रभावकारी बनाउनका लागि नयाँ ढंगले अघि बढ्ने तयारी गरिरहेको सन्दर्भमा यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यसैगरी, बैठकमा पार्टीभित्रको अनुसन्धानात्मक कारबाहीका सम्बन्धमा र आगामी केन्द्रीय समितिको बैठक बोलाउने विषयमा पनि छलफल हुनेछ। पार्टीको आन्तरिक अनुशासन र आगामी रणनीतिका बारेमा छलफल गरी सचिवालयले ठोस प्रस्तावहरू तयार गर्ने प्रवक्ता झाले जानकारी दिएका छन्।





