काठमाडौँ । रसुवास्थित भोटेकोशी र त्रिशूली नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण उत्पन्न सङ्कट र तटीय क्षेत्रमा बढेको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सम्भावित क्षति न्यूनीकरणका लागि राज्यका सम्पूर्ण सुरक्षा निकाय तथा सरकारी संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा महत्त्वपूर्ण निर्णय हुने बताइएको छ।
बुधबार बिहानदेखि आएको अप्रत्याशित बाढीले रसुवा र नुवाकोटमा क्षति पुर्याएको तथा यसको असर तल्लो तटीय क्षेत्र चितवनसम्म पर्न सक्ने बाढी पूर्वानुमान शाखाको चेतावनीपछि सरकारले उच्च सतर्कता अपनाउँदै यो कदम चालेको हो।





