हेटौँडा । बागमती प्रदेश सरकार गठनको प्रक्रिया र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्रको असन्तुष्ट पक्ष मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत दिने विषयमा विभाजित भएको छ।
मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालसँग भएको शीर्ष छलफलपछि पनि असन्तुष्टि पूर्ण रूपमा समाधान हुन सकेको छैन। नेकपाभित्रको पूर्वमाओवादी खेमा छलफलपछि मुख्यमन्त्री थापालाई विश्वासको मत दिन सहमत देखिए पनि तत्कालीन एकीकृत समाजवादी समूह भने पुरानै अडानमा कायमै रहेको छ।
नेकपा बागमती संसदीय दलका उपनेता एवम् समाजवादी समूहका नेता कृष्ण खनालले शीर्ष नेतृत्वसँगको छलफलबाट कुनै ठोस निष्कर्ष नआएको भन्दै सत्ता साझेदारीका विषयमा असन्तुष्टि यथावत् रहेको बताएका छन्। अर्कोतर्फ, नेकपा सचिव गंगानारायण श्रेष्ठले भने शीर्ष नेताहरूसँगको वार्तापछि अधिकांश विषयमा सहमति जुटेको र प्रदेशसभा बैठकमा सहभागी भई मुख्यमन्त्रीलाई विश्वासको मत दिने दाबी गरेका छन्।




