काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (बुधबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा चारवटा प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका केही स्थानमा मध्यम वर्षा हुनेछ। यसैगरी मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका केही स्थान र सुदूरपश्चिमको तराईका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेष गरी कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका थोरै स्थानमा हिमपात र वर्षा हुनेछ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरै स्थान, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थान तथा तराईका केही भागमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





