काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को आगामी मंसिर ११ देखि १५ गतेसम्म तय गरिएको बहुप्रतिक्षित एकता महाधिवेशन निर्धारित समयमा नहुने सम्भावना बढेको छ । पार्टीको केन्द्रीय संयोजन समितिले अनुमोदन गरेको कार्यतालिका अनुसार तल्लो तहका अधिवेशन तथा सांगठनिक तयारीहरू अघि बढ्न नसकेपछि महाधिवेशन अनिश्चित बनेको हो । साबिक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बिचको वैचारिक, सैद्धान्तिक तथा सांगठनिक अन्तरविरोध कायमै रहेकाले पूर्वनिर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न कठिन भएको नेताहरूले बताएका छन् ।
पार्टीभित्र विशेषगरी शासकीय स्वरूप र मार्गदर्शक सिद्धान्तलाई लिएर शीर्ष नेतृत्वबिच नै गम्भीर मतभेद देखिएको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा उभिँदा सहसंयोजक माधवकुमार नेपाल सुधारिएको संसदीय व्यवस्थाको वकालत गरिरहेका छन् । त्यस्तै, माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने वा नमान्ने विषयमा पनि दुई घटकबिच सहमति जुट्न सकेको छैन । भोटेकोशी तथा त्रिशूली बाढीका कारण प्रभावित जिल्लाहरूमा अधिवेशन प्रक्रिया अवरुद्ध हुनुका साथै हालसम्म करिब ३० प्रतिशत मात्र सदस्यता नवीकरण सम्पन्न भएकाले सांगठनिक अन्योलता अझ गहिरिएको छ ।
अर्कोतर्फ, जेनजी आन्दोलन र पछिल्लो निर्वाचनको कमजोर नतिजापछि पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाब तीव्र बनेको छ । तर, संयोजक प्रचण्ड भने अहिल्यै नेतृत्व छाड्ने मनस्थितिमा नरहेको निकटवर्ती स्रोतहरू बताउँछन् । दबाबकै भरमा नेतृत्वबाट पछि नहट्ने र अझै केही वर्ष सक्रिय राजनीतिमै रहने अडान प्रचण्डले लिएपछि नेकपाभित्र पुस्तान्तरणको बहस र महाधिवेशनको भविष्य थप पेचिलो मोडमा पुगेको छ ।





