राष्ट्रपति पौडेलको जापान भ्रमण सम्पन्न: उच्चस्तरीय भेटवार्तापछि स्वदेश प्रस्थान

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज टोकियोको नारिता विमानस्थलबाट स्वदेश प्रस्थान गरेका छन्। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेल र नेपाली प्रतिनिधिमण्डलसहित सोमबार जापान आइपुगेका थिए।

जापान सरकारको निमन्त्रणामा भएको यस भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोस्थित ‘इम्पेरियल प्यालेस’मा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गरेका थिए। भ्रमणकै सिलसिलामा जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओले राष्ट्रपति पौडेलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरी दुई देशबीचको आपसी हित र सम्बन्धका विषयमा छलफल गरेका थिए।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए। उनले जापानका व्यापारिक समुदाय र त्यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्नुका साथै नेपाली राजदूतावासको समेत अवलोकन गरेका थिए।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। सोही ऐतिहासिक सम्बन्धको सम्झना गर्दै ७०औँ वर्षगाँठ मनाउन राष्ट्रपति पौडेल आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गरेका थिए। यस भ्रमणले दुई देशबीचको कूटनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा