काठमाडौं । यसपालिको होली पर्व घर कम्पाउन्डभित्रै मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षर गरिएकाे सूचनामा खुला सडक, सार्वजनिक स्थानमा भीड नगर्न , मेला–महोत्सव गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरू नगर्न आग्रह गरिएकाे छ।
यस्तै मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्नेजस्ता कार्यहरू र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्न/नगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध गरेकाे छ ।
प्रशासनले आ–आफ्नो घर कम्पाउन्डभित्र अरू कोही कसैलाई बाधा नपर्ने गरी आफन्त, परिवारजन, साथीसँगीसँग यो पर्व मनाउन सकिने स्पष्ट पारेको छ ।
“शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादकपदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छाविपरीत रङ एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्नेजस्ता अमर्यादित कार्य नगर्न/नगराउन सबैमा अनुरोध छ,” सूचनामा उल्लेख छ ।
होलीमा निर्वाचन चिह्न र उमेदवारका तस्बिरअंकित पोसाक प्रयोगमा पनि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।कोही कसैले यस्ता अमर्यादित, उच्छृंखल, अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही समेत बताइएकाे छ।





