काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा अहिले साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी र हिमाली क्षेत्रसहित बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागेको छ भने केही ठाउँमा तुवाँलोको प्रभाव देखिएको छ। गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा अहिले पनि हल्का वर्षा र हिमपात भइरहेको छ। देशका अन्य भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।





