काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीका कारण हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश पहाडी र हिमाली भूभागमा पूर्ण बदली रही आकाश बादलले ढाकेको छ। देशका बाँकी भूभागमा पनि साधारणतया बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा मौसम बदली रहनेछ। यस क्रममा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानहरूमा मेघगर्जन र असिनासहित वर्षा हुने अनुमान गरिएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको समेत सम्भावना छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ। प्रि-मनसुनको समय भएकाले मौसममा तीव्र परिवर्तन भइरहने र चट्याङ्ग, असिना तथा हावाहुरीको जोखिम रहने हुनाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
विशेष गरी कृषकहरूलाई बालीनाली जोगाउन र सर्वसाधारणलाई चट्याङ्ग तथा हावाहुरीबाट बच्न आवश्यक पूर्वतयारी गर्न सुझाव दिइएको छ। यातायात र पदयात्रामा निस्कनेहरूले पनि मौसमी अवस्था बुझेर मात्र यात्रा तय गर्न मौसमविद्हरूले सल्लाह दिएका छन्।





