काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताउनुभएको छ। इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ‘इद उल फित्र’ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सो कुरा बताउनुभएको हो। राष्ट्रपति पौडेलले इद पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।” उहाँले नेपाल बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक भएकाले यहाँ मनाइने यस्ता मौलिक चाडपर्वहरूले राष्ट्रिय एकतालाई थप कसिलो बनाउने उल्लेख गर्नुभयो।
मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ इद मनाउने गर्छन्। इदको विशेष नमाज अर्पण गरिसकेपछि मान्यजनबाट आशीर्वाद लिने र दिने परम्परा छ। यस अवसरमा विभिन्न मिष्ठान्न परिकारहरू खाने र खुवाउने चलन रहिआएको छ। राष्ट्रपति पौडेलले यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना समेत प्रकट गर्नुभएको छ।





