काभ्रेपलाञ्चोक । शुक्रबार साँझदेखिको अविरल वर्षा र रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आज (आइतबार) बिहान ६:०० बजेदेखि पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडक विभाग, नेपाल प्रहरी र स्थानीयको अथक प्रयासपछि अस्थायी डाइभर्सन निर्माण गरी दुईतर्फी यातायात सुचारु गरिएको हो।
वर्षाले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएपछि गत शुक्रबारदेखि राजमार्ग पूर्ण रूपमा ठप्प भएको थियो। विशेष गरी बिरुवाडाँडा, कालढुङ्गा र मङ्गलटार क्षेत्रमा लेदोसहितको पहिरो खस्नुका साथै बाढीले सडक नै कटान गरेको थियो। खोलामा पानीको सतह केही घटेपछि आज बिहानैदेखि मेसिनहरू प्रयोग गरेर सडक मर्मत गरी सवारी साधन सञ्चालनमा ल्याइएको हो।
राजमार्ग अवरुद्ध हुँदा धुलिखेलको काभ्रेभन्ज्याङ, भकुण्डेबेँसी तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटार क्षेत्रमा सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका थिए। गत वर्ष असोजको विनाशकारी बाढीले यो सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि हाल खोलाको किनारबाटै अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिँदै आएको छ।
प्रहरीले सडक खुले पनि मौसमको प्रतिकूलता र वर्षाको सम्भावना कायमै रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन र ठुलो वर्षा भएको समयमा जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। अहिले रोकिएका सवारी साधनहरूलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाउने काम भइरहेको छ।





