प्रधानमन्त्री बालेनको निर्देशनपछि लुम्बिनीमा ५ वर्षदेखि थन्किएका विद्युतीय बस सञ्चालनमा

बुटवल । सञ्चालनको उचित मोडालिटी नबन्दा लुम्बिनीमा विगत पाँच वर्षदेखि प्रयोगविहीन अवस्थामा थन्किएका विद्युतीय गाडीहरू प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निर्देशनपछि बुधबारदेखि सञ्चालनमा आएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्र प्राप्त भएसँगै लुम्बिनी विकास कोषले दुईवटा बस सञ्चालनमा ल्याएको हो।

एसियाली विकास बैंक (एडीबी) को करिब १३ करोड रुपैयाँ अनुदान सहयोगमा ल्याइएका १९ वटा विद्युतीय बस र भ्यानहरू कानुनी अल्झन र व्यवस्थापकीय कमजोरीका कारण लामो समयदेखि खुला आकाशमुनि अलपत्र थिए। लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठका अनुसार, लामो समयसम्म नचल्दा ब्याट्री र एसीमा केही प्राविधिक समस्या देखिएकाले मर्मत गरेर सबै सवारीसाधनलाई नियमित रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ।

हाल सञ्चालनमा आएका दुईवटा बसमध्ये एउटाले लुम्बिनी–भैरहवा एयरपोर्ट–बेलहिया रुटमा सेवा दिनेछ भने अर्को बस लुम्बिनी–कपिलवस्तु–तिलौराकोट–कुदान खण्डमा चल्नेछ। बाँकी तीनवटा गाडीलाई मर्मत गरी छिट्टै रामग्राम, देवदह र बुटवलसम्म विस्तार गरिने कोषले जनाएको छ। ‘क्लिन इनर्जी प्रोजेक्ट’ अन्तर्गत भित्रिएका यी सवारी साधनले लुम्बिनीलाई प्रदूषणरहित बुद्धस्थलका रूपमा विकास गर्न र पर्यटकलाई सहज यातायात सुविधा दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यसअघि यी गाडीहरू सञ्चालन हुन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ लैजाने निर्णय गरेको थियो। तर, स्थानीय आवश्यकता र पर्यटकीय महत्त्वलाई ध्यान दिँदै प्रधानमन्त्री कार्यालयले लुम्बिनीमै चलाउन कडा निर्देशन दिएपछि ५ वर्षदेखिको गतिरोध अन्त्य भएको हो। १३ करोडको लागत र साढे ३ करोडभन्दा बढी भन्सार राजस्व बेहोरेका यी अमूल्य सम्पत्ति अन्ततः जनताको सेवामा प्रयोग हुन थालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा