मौसम सतर्कता: आज देशैभर बदली, हावाहुरी र असिनासहित भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभावका कारण देशभरको मौसममा उल्लेख्य बदलाव आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत बागमती र कोशी प्रदेशका हिमाली भू-भागमा बिहानैदेखि बादल लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो पश्चिमका चार प्रदेशहरू (गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) मा पूर्णतया बदली रहनेछ भने बाँकी भू-भागमा साधारणतया बदली रहनेछ। यी प्रदेशका धेरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वामानुमान गरिएको छ। मधेस, बागमती र कोशी प्रदेशका तराई भेगमा पनि हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आज राति पनि देशभर साधारणतया बदलीकै अवस्था रहनेछ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित वर्षा र हिमपात जारी रहने महाशाखाले जनाएको छ। प्रि-मनसुनको समयमा हुने यस्तो मौसमी गतिविधिले हवाई तथा सडक यातायात, कृषि र पर्यटन क्षेत्रमा समेत असर पार्न सक्ने देखिएको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले सम्भावित प्राकृतिक विपद् र हावाहुरीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासन र सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ। विशेष गरी पहाडी क्षेत्रका बासिन्दालाई चट्याङ्ग र असिनाबाट जोगिन सुरक्षित स्थानमा रहन मौसमविद्हरूले सुझाव दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा