काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, वचन र कर्मले निष्ठावान रहन सम्पूर्ण देशवासीलाई आह्वान गर्नुभएको छ। नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना सन्देश जारी गर्दै उहाँले राज्यको प्राथमिक स्वार्थ नागरिकको हित र स्वतन्त्रता मात्र हुनुपर्नेमा जोड दिनुभएको हो।
राष्ट्रपति पौडेलले नयाँ वर्षलाई विगतको समीक्षा र आगामी लक्ष्य निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै राजनीति र राजकाजलाई नैतिकता एवं निष्ठाको सीमाभित्र राख्नुपर्ने बताउनुभयो। हालैको निर्वाचनपछिको नयाँ जनादेशले विधिको शासन, सुशासन र समृद्धिको जनचाहनालाई स्पष्ट पारेको उल्लेख गर्दै उहाँले सुशासनप्रतिको प्रतिबद्धता अपरिहार्य रहेको औँल्याउनुभएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार र नयाँ राजनीतिक शक्तिको उदयले नागरिकमा जगाएको आशालाई सम्बोधन गर्न राज्यका हरेक संयन्त्र नागरिक केन्द्रित हुनुपर्ने राष्ट्रपतिको सन्देशको मुख्य आशय रहेको देखिन्छ।
समावेशीकरण र सामाजिक न्यायलाई आत्मसात् गर्दै राष्ट्रिय एकता सुदृढ बनाउनुपर्ने धारणा राख्दै उहाँले भविष्यका सन्ततिले लोकतन्त्रको मार्ग रोजेकोमा गर्व गर्ने वातावरण बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। जुनसुकै कठिन परिस्थितिमा पनि देशको स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने सङ्कल्प गर्न अपिल गर्दै राष्ट्रपतिले सबै नेपालीको सुख, शान्ति र दीर्घायुको कामना गर्नुभएको छ।





