काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको प्रत्यक्ष निर्देशनमा त्रिपुरेश्वरस्थित ‘बागमती स्वीट्स प्रालि’ मा शिलबन्दी गरिएको छ। गत चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा उक्त मिठाइ पसलमा सरसफाइ र गुणस्तरसम्बन्धी गम्भीर कमजोरी फेला पारेको थियो।
टोलीले अनुगमनका क्रममा उत्पादन रोक्न स्पष्ट निर्देशन र चेतावनी दिए पनि प्रालिले त्यसको अटेरी गर्दै उत्पादन र बिक्री वितरण जारी राखेपछि बिहीबार कडा कारबाही गरिएको हो। सरकारी निर्देशनको अवज्ञा गर्दै उक्त प्रालिले विभिन्न सरकारी कार्यालयहरूमा समेत खाजा पुर्याइरहेको पाइएपछि मन्त्री चौधरीले तत्काल शिलबन्दी गर्न आदेश दिनुभएको थियो।
मन्त्री चौधरीले आम नागरिकको स्वास्थ्य र खाद्य स्वच्छताप्रति सरकार कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्ने र सरकारी निर्देशन पालना नगर्ने जुनसुकै व्यवसायलाई कडा कानुनी कारबाही गरिने उहाँले चेतावनी दिनुभयो। हाल उक्त मिठाइ पसलको उत्पादन पूर्ण रूपमा बन्द गरिएको छ भने यस सम्बन्धमा थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।





