काठमाडौँ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूका लागि सरकारले ठूलो राहतको व्यवस्था गरेको छ। अब विद्यार्थीहरूले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनका लागि सानोठिमीस्थित कार्यालयमा भौतिक रूपमा उपस्थित भइरहनु पर्ने छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौँ विश्वविद्यालय (केयू) को प्रणालीसँग अन्तरआबद्धता (API Integration) गरेसँगै यो सेवा ‘फेसलेस’ र ‘डिजिटल’ बनेको हो।
यस प्रयोजनका लागि वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै यस्तो व्यवस्था भइसकेको छ। यो व्यवस्थापछि विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिने, राजस्व तिर्ने र आवेदन स्वीकृत भएपछि आफ्नै प्रोफाइलबाट एनओसी डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्। सर्टिफिकेटमा क्यूआर कोड राखिएकाले यसको आधिकारिकता सहजै स्क्यान गरेर जाँच्न सकिने मन्त्रालयले जनाएको छ।
यसअघि स्नातक वा सोभन्दा माथिल्लो तहको अध्ययनका लागि जान चाहने विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र रुजु गर्न भौतिक रूपमै उपस्थित हुनुपर्ने बाध्यता थियो। अब भने त्रिवि र केयूको प्रणालीसँगको अन्तरआबद्धताका कारण रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा प्रणालीले नै विवरणहरू रुजु गर्नेछ। राजस्व भुक्तानी पनि महालेखा नियन्त्रक कार्यालयको अनलाइन प्रणालीमार्फत नै हुने भएकाले एनओसीको सम्पूर्ण प्रक्रिया अब पूर्ण रूपमा प्रविधिमैत्री र झन्झटमुक्त भएको छ।




