बुटवल । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। हुलाकी सडक खण्डअन्तर्गत गएराति भएको सवारी दुर्घटनामा उक्त क्षति भएको हो।
कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवामा रोकिराखिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा यूपी ३२ सीए ८३४३ नम्बरको भारतीय स्कार्पियो अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। दुर्घटनामा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको छ।
दुर्घटनामा महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार स्कार्पियो अनियन्त्रित भई रोकिराखिएको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




