काठमाडौँ,पसल सञ्चालन गर्न खोज्ने ब्यवसायी र प्रहरीबीच विवाद भएपछि न्युरोडमा तनाव उत्पन्न भएको छ। जारी लकडाउनकाबीच व्यवसायीले आफुखुसी पसल सञ्चालन गर्न खोजेपछि काठमाडौंको न्युरोड क्षेत्रमा तनाव उत्पन्न भएको हो। ब्यवसायीहरुले गत विहिवार देखि ब्यवसाय सञ्चालन गर्ने निर्णय गरेसंगै काठमाडौंका मुख्य शहरमा पसल खुल्न थालेका छन् ।
सुरक्षा मापदण्ड अपनाउँदै पसल ब्यवसाय सञ्चालन गर्ने निर्णय ब्यवसायीहरुको संगठनले गरेको छ ।न्युरोडमा मंगलवार विहान लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको हो ।विहानै देखि पसल खोल्न ब्यवसायी पुगेपछि प्रहरीले बन्द गराउँदै हिडेको थियो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिए पछि अवस्था विग्रीएको बताएका छन् ।स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि प्रहरीसंग झडप समेत भएको छ । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ
व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् । काठमाडौंका मुख्य ब्यापारीक बजार विहिवारदेखि खुल्न थालेका छन् । ब्यवसायीले पसल सञ्चालन गरेपछि सार्वजनिक यातायात ब्यवसायीले पनि यातायात सञ्चालन गर्न पाउनुपर्ने बताएका छन्।