देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव: पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीका कारण देशभरिको मौसममा आंशिकदेखि साधारणतया बदली हुने देखिएको छ। विशेषगरी पहाडी र हिमाली क्षेत्रमा यसको प्रभाव बढी देखिने जल तथा मौसम विज्ञान विभागको अनुमान छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि मौसममा पूर्ण सुधार हुने देखिँदैन। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको स्थिति रहने महाशाखाले बताएको छ।

मौसममा आउने यो परिवर्तन बुधबार पनि जारी रहने देखिएको छ। बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षा र हावाहुरीले जनजीवनमा सामान्य असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा