काठमाडौँ । व्यवसायी शेखर गोल्छा अझै पनि प्रहरीको नियन्त्रणमै रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जानकारी दिएको छ। सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गोल्छामाथि धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले उनलाई नियन्त्रणमा राखिएको हो। यसअघि बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि उनी पक्राउ परेका थिए।
गोल्छालाई गत वैशाख ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध परेको विभिन्न उजुरीका आधारमा सीआईबीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। यसैबीच, उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार एक महत्वपूर्ण आदेश जारी गरेको थियो।
सर्वोच्च अदालतले धरौटी वा जमानतमा छाड्न नसकेको अवस्थामा मात्रै थुनामा राख्न आदेश दिएको छ। कानुनमा धरौटी वा जमानतको स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसको विपरीत पक्राउ अनुमति जारी गरिएको भन्दै सर्वोच्चले जिल्ला अदालत काठमाडौंबाट जारी भएका दुईवटा पक्राउ अनुमतिपत्र समेत खारेज गरिदिएको छ।
यद्यपि, सीआईबीले भने बीमा सम्बन्धी मुद्दामा सर्वोच्चको आदेश भए पनि धितोपत्र सम्बन्धी अर्को कसुरमा अनुसन्धान बाँकी नै रहेकाले उनलाई हिरासतमुक्त नगरेको प्रस्ट पारेको छ। हाल गोल्छामाथि थप प्रमाण जुटाउने र बयान लिने कार्य भइरहेको प्रहरीले जनाएको छ।





