इलाम । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलामले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन कार्यलाई तीव्रता दिएको छ। आयोगले हालसम्म ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ। जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार कानुनी प्रक्रिया पूरा गरी ४४५ परिवारले उपभोग गरिरहेको जग्गा दर्ता गर्ने निर्णय भइसकेको छ।
लालपुर्जा वितरणका क्रममा ५९३ कित्ता जग्गाको प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ। जग्गा दर्ता र प्रमाणपत्र वितरण प्रक्रियाबाट सरकारलाई १ करोड ८६ लाख ३१ हजार ४९५ रुपैयाँ राजस्व प्राप्त भएको छ। यसबाहेक थप ७३८ परिवारको नापजाँच र राजस्व निर्धारणको काम अन्तिम चरणमा पुगेकाले उनीहरूले पनि छिट्टै पुर्जा पाउने सम्भावना बढेको छ।
जिल्लाका स्थानीय पालिकाहरूसँगको समन्वयमा आयोगले कुल २० हजार १७४ निवेदन सङ्कलन गरेको थियो। जसमा १८ हजार ९१० अव्यवस्थित बसोबासी, ८५७ भूमिहीन सुकुमवासी र २४८ भूमिहीन दलितका निवेदन रहेका छन्। हाल १ हजार ९२६ निवेदनहरू प्रमाणीकरणको प्रक्रियामा रहेको र बाँकी निवेदनहरूको पनि क्रमिक रूपमा समाधान खोजिने आयोगले प्रतिबद्धता जनाएको छ।





