सुकुमबासी बस्तीमा डोजर चलाउनु निरङ्कुशता हो, नागरिकलाई बेघर बनाउने कार्य किमार्थ स्वीकार्य छैन: हर्क साम्पाङ

हेटौँडा । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सुकुमबासी बस्तीका नागरिकलाई घर भत्काएर बेघर बनाउने सरकारको कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। संविधानले प्रत्येक नागरिकलाई बाँच्न पाउने र आवासको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यले बल प्रयोग गरेर नागरिकलाई त्रसित बनाउनु निरङ्कुश शैली भएको टिप्पणी गरे। शनिबार हेटौँडा–११ स्थित सिमलटार र थानाभर्याङमा आयोजित सुकुमबासी तथा अव्यवस्थित बसोबासीसँगको भेटघाट कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

सांसद साम्पाङले सुकुमबासीहरूको समस्यालाई आफूले संसद् र सडक दुवै तहबाट सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए। प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पहिलो अधिवेशनको पहिलो बैठकमै आफूले सुकुमबासी समस्या सम्बन्धी एजेन्डा टेबल गरिसकेको स्मरण गराउँदै उनले नागरिकको मौलिक हक रक्षाका लागि आफू सधैँ अग्रपङ्क्तिमा रहने बताए। राज्यले आतङ्क फैलाउने हिसाबले एक्कासि घर भत्काउनु लोकतान्त्रिक मूल्य मान्यता विपरीत हुने उनको तर्क थियो।

बस्तीमै पुगेर स्थानीयका समस्या र जग्गा व्यवस्थापनको असुरक्षाबारे गुनासो सुन्दै साम्पाङले नेपाली जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न मेचीदेखि महाकालीसम्मका नागरिक एकजुट हुनुपर्नेमा जोड दिए। पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारी जग्गा अतिक्रमण हटाउने अभियान सुरु गरेसँगै सिमलटार बस्तीका स्थानीयहरू विस्थापित हुने डरले त्रसित बनेका छन्। सोही सन्दर्भमा साम्पाङले स्थानीयलाई ढाडस दिँदै आफू सधैँ उनीहरूकै पक्षमा उभिने विश्वास दिलाएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा