काठमाडौँ । मुलुकभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज (शनिबार) देशभरको मौसममा व्यापक बदलाब आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भू-भागका धेरैजसो स्थानमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा र पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै, तराई भू-भागका केही स्थानहरूमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। विशेष गरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
त्यसैगरी आज राति पनि देशभरको मौसम बदली नै रहनेछ। रातिको समयमा देशको हिमाली र पहाडी भू-भागका केही तथा तराई भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। रातिको समयमा वर्षाको दायरा अझ फराकिलो भई कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भू-भाग, मधेश प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ। लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा शहरी क्षेत्रमा डुबानको जोखिम रहने भएकाले सर्वसाधारणलाई सचेत रहन अपिल गरिएको छ।




