मौसम अपडेट: आज सुदूरपश्चिममा ‘धेरै भारी’ वर्षाको चेतावनी, अन्य चार प्रदेशमा पनि भारी वर्षाको सम्भावना

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (आइतबार) देशभरको मौसममा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभर साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराईका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुनेछ। यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका धेरै स्थान, बागमती र गण्डकीका तराई भू-भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी आज राति पनि देशभरको मौसम बदली नै रहनेछ। रातिको समयमा देशका हिमाली भू-भागका केही स्थानमा वर्षा तथा हिमपात हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनेछ भने सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको उच्च जोखिम रहेको छ। लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा