पाँच लाख घुससहित समातिएका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा दायर

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय लहान सिरहाका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर लेखापरीक्षण गर्ने क्रममा पेस गरिएका बिल विजक तथा कागजातहरू नमिलेको बहाना बनाउँदै कर अधिकृत पालले सेवाग्राहीलाई दुःख हैरानी दिएका थिए। काम मिलाइदिने बहानामा उनले चार्टर्ड एकाउन्टेन्ट यादवमार्फत रकमको बार्गेनिङ गरी पाँच लाख रुपैयाँ घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा कर अधिकृत पालले विभिन्न फर्म तथा कम्पनीहरूको लेखापरीक्षण एवं कर निर्धारण गर्ने क्रममा चार्टर्ड एकाउन्टेन्ट यादवसँग मिलेमतो गरी घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारले पाल र यादव दुवैविरुद्ध बिगोबमोजिम पाँच लाख रुपैयाँ जरिवाना र कैद सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा