काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (शनिबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा केही प्रदेशका पहाडी र तराई भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेष गरी देशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थानमा हिमपात र वर्षा हुनेछ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। यसका साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराई भू-भागका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिमको तराईका थोरै स्थानमा वर्षा हुनेछ। बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भू-भाग र कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





