मौसम अपडेट: आज मधेश, बागमती, गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (बिहीबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पहाडी र तराईका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा सुदूरपश्चिमको पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ। तराईतर्फ मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थान, कोशी र लुम्बिनीका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भेग तथा मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनीको तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा देशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस्तै देशका पहाडी भू-भागका केही स्थान र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। भारी वर्षा, मेघगर्जन तथा चट्याङ्गका कारण हुनसक्ने गेग्रान बहाव, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा