चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ किलो नजिकै माथिबाट लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन एकतर्फी बनेको छ। शुक्रबार बिहान सडकमा लेदो खसेपछि दुवैतर्फका सवारी साधनहरू बीच बाटोमै रोकिएका थिए।
सडक डिभिजन भरतपुरका अनुसार हाल पहिरो तथा लेदो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ। लेदो हटाएर करिब डेढ घण्टाभित्र सडक दुईतर्फी नै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको डिभिजनले जनाएको छ।
सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका सवारी साधनहरूको लामो लाइन लागेको छ। पहिरो पन्छाउने काम जारी रहेकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन र धैर्य गर्न ट्राफिक प्रहरीले चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ।





