काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज (मङ्गलबार) संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको अपराह्न ४:१५ बजेको उडानमार्फत त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्। यसैगरी, न्युयोर्कमा नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहनेछ।
भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाहले यही असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। न्युयोर्कमा रहँदा उनले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण पूरा गरी उनी यही असोज १० गते स्वदेश फर्किनेछन्।





