काठमाडौँ । आज २०८३ असोज १७ गते शनिबार देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने कर्णाली, सुदूरपश्चिम तथा देशका तराई भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुनसक्नेछ। साथै मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भेगका एक–दुई स्थानमा समेत मध्यमसम्मको वर्षा हुने अनुमान छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका केही भू–भागमा बिहानपख हुस्सु लाग्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।





