फिफा विश्वकपको सङ्घारमा नयाँ कूटनीतिक तनाव: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरिदिएको इरानको दाबी

तेहरान । सन् २०२६ को फिफा विश्वकप फुटबल सुरु हुन मात्र तीन दिन बाँकी छँदा सह-आयोजक राष्ट्र अमेरिका र इरानबिच गम्भीर कूटनीतिक तनाव उत्पन्न भएको छ। इरानी फुटबल महासङ्घले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले इरानी समर्थकहरूका लागि छुट्याइएको समूह चरणका खेलहरूको टिकट कोटा रद्द गरिदिएको आरोप लगाएको छ।

दुई देशबिच चर्किएको राजनीतिक विवादको छाया खेलकुद मैदानमा देखिएको भन्दै इरानले आफ्ना प्रशंसकहरूलाई रङ्गशाला प्रवेशमा अवरोध पुर्‍याउन अमेरिकाले यस्तो कदम चालेको दाबी गरेको छ। इरानी फुटबल निकायका अनुसार फिफाको नियमबमोजिम प्रत्येक खेलका कुल टिकटमध्ये ८ प्रतिशत कोटा सहभागी टोलीको महासङ्घलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ। सोहीअनुरूप इरानले न्युजिल्यान्ड, बेल्जियम र इजिप्टविरुद्ध हुने समूह चरणका खेलहरूका लागि टिकट बिक्रीसमेत सुरु गरिसकेको थियो।

तर, अप्रत्याशित रूपमा अमेरिकाले उक्त कोटा फिर्ता लिएपछि इरानी महासङ्घले आफ्ना समर्थकलाई एउटै पनि टिकट उपलब्ध गराउन नसक्ने अवस्था बनेको जनाएको छ। यसका साथै अमेरिकाले इरानका सहयोगी कर्मचारीहरूलाई समेत भिसा दिन अस्वीकार गरेको आरोप लगाइएको छ। इरानले अमेरिकाको यस कदमलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको भावना र सहभागी देशबिचको समानताको सिद्धान्त विपरीत भएको उल्लेख गर्दै फिफाको ध्यानाकर्षण गराएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा