अफगानिस्तानमा भारी वर्षा र बाढीको ताण्डव: ६१ जनाको मृत्यु, ११६ घाइते, हजारौँ घरमा क्षति

काबुल । अफगानिस्तानमा विगत केही दिनदेखि जारी भारी वर्षा र त्यसपछिको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत सार्वजनिक गर्नुभएको पछिल्लो तथ्याङ्कअनुसार वर्षाजन्य घटनामा ११६ जना घाइते भएका छन् भने चार जना अझै बेपत्ता छन्।

मृत्यु हुने र घाइते हुनेहरूमा अधिकांश अफगानिस्तानको दक्षिणी र पश्चिमी प्रान्तका बासिन्दा रहेका छन्। बाढीले भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ। प्रवक्ता मुजाहिदका अनुसार हालसम्म २ हजार ४४८ घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन्। बाढीले केवल बस्ती मात्र नभई कृषि क्षेत्रमा पनि निकै ठूलो नोक्सानी गरेको छ। अफगानिस्तानका २५ वटा प्रान्तमा गरी झण्डै २६ हजार ८४१ एकड खेतीयोग्य जमिन र बालीनाली बाढीले बगाएको पुष्टि भएको छ।

यस वर्षको वसन्त ऋतुको सुरुवातमै भएको यो भीषण वर्षाले अफगानिस्तानको ग्रामीण अर्थतन्त्र र जनजीवनलाई अस्तव्यस्त बनाइदिएको छ। बाढीका कारण धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएका छन् भने पशुचौपायाको पनि ठूलो क्षति भएको छ।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा पनि भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विशेष गरी दुर्गम हिमाली क्षेत्र र नदी किनारका बस्तीहरूमा बाढीको उच्च जोखिम रहेको भन्दै सरकारले थप सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न सर्वसाधारणलाई आग्रह गरेको छ। बालेन्द्र शाह नेतृत्वको नेपाल सरकारले पनि यसअघि नै छिमेकी र सार्क क्षेत्रमा हुने यस्ता प्राकृतिक विपद्प्रति ऐक्यबद्धता जनाउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा