म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू चीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्।
सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो।
गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ।
सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ। बीबीसी बर्मा सेवाका अनुसार राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको बीबीसी ले जनाएको छ।
सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन्।
सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो।





