काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार आज २०८२ माघ ०७ गते बुधबार देशका विभिन्न भागमा मौसममा आंशिक प्रभाव रहनेछ। दिउँसो तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
यस्तै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने भए तापनि बाँकी क्षेत्रको मौसम सफा रहनेछ।
रातीको समयमा पनि कोशी र गण्डकी प्रदेशकै उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ। तराईका केही स्थानमा भने राती पनि हुस्सुको प्रभाव कायमै रहनेछ। देशका अन्य भू-भागमा भने रातीको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
तराईमा लाग्ने कुहिरो र हुस्सुका कारण भिजिबिलिटी कम हुन सक्ने भएकाले सडक तथा हवाई यातायातमा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ। साथै, चिसो अझै कायम रहने हुँदा स्वास्थ्यको विशेष ख्याल राख्न मौसमविद्हरूले सुझाव दिएका छन्।




